सरकारले चालु आर्थिक वर्षको धान खरिद समर्थन मूल्य मोटो धानको हकमा प्रतिक्विन्टल ३,२०० रुपैयाँ तोकेको छ। मसिनो धानको मूल्य ३,४५० रुपैयाँ कायम गरिएको छ।
कैलालीका किसानले भने यो मूल्यले उत्पादन लागत पनि नउठ्ने दाबी गरेका छन्। जिल्ला किसान महासंघका अध्यक्षले प्रतिक्विन्टल ३,८०० रुपैयाँको माग राखिएको स्मरण गराउँदै भने, “रासायनिक मलको मूल्य गत वर्षभन्दा बढेको छ, डिजेल पनि महँगो भएको छ। यो मूल्यमा बेच्दा घाटा हुन्छ।”
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लामा यसवर्ष करिब ४२ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ। समयमै मनसुन भित्रिएकाले उत्पादन गत वर्षभन्दा राम्रो हुने अनुमान गरिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको धनगढी शाखाले खरिद केन्द्र सञ्चालनको तयारी सुरु गरेको जनाएको छ। तर गत वर्ष कम्पनीले जिल्लाको कुल उत्पादनको ३ प्रतिशतभन्दा कम धान मात्र खरिद गर्न सकेको थियो, जसले धेरै किसानलाई स्थानीय व्यापारीसँग कम मूल्यमा बेच्न बाध्य बनाएको थियो।
“समर्थन मूल्य कागजमा हुन्छ, खरिद केन्द्रमा कोटा सकिन्छ,” गेटा गाउँका किसान रामप्रसाद यादवले भने। “बिचौलियाले २,७०० मा लिन्छ। हामीलाई कुर्ने सुविधा छैन।”