गत तीन दिनदेखि परेको लगातार वर्षापछि मोहना नदीको सतह उल्लेख्य रूपमा बढेको छ। जल तथा मौसम विज्ञान विभागको धनगढी कार्यालयका अनुसार बिहीबार बिहान ६ बजे मापन गरिएको बहाव खतराको सतहभन्दा ४० सेन्टिमिटर तल थियो, तर बहाव बढ्दो क्रममा छ।
जिल्ला विपद् व्यवस्थापन समिति कैलालीले धनगढी उपमहानगरपालिकाका वडा नं. २, ३ र ६ मा पूर्वसूचना जारी गरेको छ। नदी किनारका करिब १८० परिवारलाई आवश्यक परे तत्काल सर्न सक्ने तयारीमा रहन आग्रह गरिएको छ।
“हामीले चार स्थानमा अस्थायी आश्रयस्थल तयार पारेका छौं। खाद्यान्न र त्रिपाल पनि भण्डारमा छ,” प्रमुख जिल्ला अधिकारीको कार्यालयका सूचना अधिकारीले पहिलो खबरसँग भने। नेपाली सेना र सशस्त्र प्रहरी बलको एक-एक टोली उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।
स्थानीयवासीले भने तटबन्धको काम अपूरो रहेको गुनासो गरेका छन्। वडा नं. ३ का स्थानीय हरिलाल चौधरीले गत वर्ष पनि यही स्थानबाट पानी बस्तीमा पसेको सम्झना गर्दै भने, “हरेक वर्ष सूचना आउँछ, तटबन्ध बन्दैन। हामी वर्षा सुरु हुनासाथ रातभर जागा बस्नुपर्छ।”
कैलालीमा गत वर्ष मोहना र कर्णाली नदीको बाढीले ९०० हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पुगेको थियो। यसवर्ष प्रदेश सरकारले तटबन्ध मर्मतका लागि छुट्याएको बजेटमध्ये आधा मात्र खर्च भएको प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको तथ्याङ्कले देखाउँछ।